धरान : धरानको भानुचौकमा अत्यधिक भिड हुन थालेपछि धरान उपमहानगरपालिकाले भानुचौकको बसपार्क व्यवस्थापन गर्ने निर्णय भएको छ ।

धरानको भानुचौकबाट छुट्ने बसहरूको मार्क गर्ने तथा भानुचौकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडी रोक्न नपाउने निर्णय गरेको छ भने उत्तरमा छाताचोक स्थित पुरानो अस्पतालभन्दा अगाडी रोक्न नपाउने निर्णय गरेको छ ।

आज धरान उपमहानगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको बैठकले धरानको बसपार्क व्यवस्थापन गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको हो । यस्तै अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

सुनसरी यातायात प्रा।लि।को बसहरूले देशिलाईनको दक्षिणपट्टि बाटोमा धेरै भिडभाड भएको गुनासो तथा समस्या भएको आधारमा त्यहाँ बढीमा पाँच वटाभन्दा बढी बसहरू स्ट्यान्ड गर्न नदिने पनि निर्णय भएको छ । सुनसरी यातायात प्रा।लि।लाई यस विषयमा मङ्गलवार पत्राचार गरिनेछ ।

भानुचौकबाट पहाडका लागि छुट्ने बस स्ट्यान्डमा बिहान ३ बजेदेखि नै व्यापार तथा फुटपाथ पसलहरू सञ्चालन गर्ने गरेको पाइएकोले अबदेखि बेलुकी ५ बजेपछि मात्र व्यापार तथा फुटपाथ पसलहरू सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

छलफलमा धरानको भानुचौक क्षेत्रमा अत्यन्तै भिडभाड भएको, अव्यवस्थित भएको र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उक्त क्षेत्रमा कुनै पनि सभा, सम्मेलन र साङ्गीतिक कार्यक्रमहरू गर्न नहुने भन्दै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ, १ नम्बर प्रदेश समितिले नगर प्रमुख राईलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

उक्त क्षेत्र आसपास निषेधित क्षेत्र घोषणा गर्न उनीहरूले माग गरेका छन् । यस विषयमा नगर प्रमुख राईले वैकल्पिक स्थानको खोजी गर्ने, सरोकारवाला निकाय तथा राजनीतिक दलहरूसँग छलफल गरेर मात्र निर्णय गरिने बताए ।

दश वर्ष अघि पनि भानुचौक क्षेत्रमा सभा, सम्मेलन तथा साङ्गीतिक कार्यक्रमहरू गर्न नदिने भनेर निर्णय गरिएको सुनाउँदै प्रमुख राईले भने तर त्यो निर्णय अझै पनि कार्यान्वयनमा आउन सकेन ।
बैठकमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र बजार अनुगमन अधिकृतको उपस्थिति रहेको थियो ।