विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

कोसी राजमार्गको बुढीगङ्गा गाउँपालिका-४ को सडक खण्डमा ना ४ ख ३८७६ नम्बरको बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार लेटाङबाट विराटनगर तर्फ आउँदै गरेको यात्रुबाहक बसको पत्ती भाँचिएर अनियन्त्रित भई रोडमा पल्टिएको हो ।

दुर्घटनामा घाइते भएका मोरङ बेलबारी-४ का ३६ वर्षीय दीपक दाहाल, दुहबी-२ का २५ वर्षीय फुसेद आलम, ४० वर्षीय अफ्रेज रोहित, लेटाङ-३ बस्ने ५१ वर्षीय प्रेमबहादुर मगर, १८ वर्षीय युमा मगर, बेलबारी-५ बस्ने शिव विष्ट, सुनसरी इटहरी-१६ की केशिका न्यौपानेलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको छ ।

लेटाङ-५ का भक्तबहादुर मगर, कुन्तीकुमारी मगर, मोहन ढकाल, निरोज ढकाल, सुनसरी दुहबीका विजय राम, विमला ढकाल, पदम मिश्र, चन्द्रकुमारी मिश्र, खोटाङकी सलिना खत्रीको दुहबी सामुदायिक अस्पतालमा उपचार भएको छ ।

दुर्घटनामा घाइते शान्ति भगतको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस चालक लेटाङ-४ बस्ने ४० वर्षीय नारायण परियारलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।