झापा : हरेक बर्खामा दुख बन्ने गरेको छ गौरादह नगरपालिका ७ सूर्योदय टोल र गौरादह नगरपालिका ९ त्रिवेणी चोकका सर्वसाधारणलाई कृष्णे खोला । हिउँदमा उति साह्रो समस्या हुन्न बासको अस्थायी भाटाको पुलबाट आवतजावत गर्न सकिन्छ तर, बर्खामा आउने बाढीले यहाँ बनाइएको बाँसको अस्थायी पुल बगाइदिन्छ ।

त्यसपछि अन्यत्रै त्यसमाथि लामो दुरी तय गर्दै पुल भएको स्थानमा पुगेर मात्र नदी वारपार गर्नुपर्ने बाध्यता यहाँका स्थानीयले भोगेको लामै समय भइसक्यो । बल्ल आएर यो स्थानमा यहाँका नागरिकले पुल देख्न पाउने भएका छन् ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट ३० लाख ४१ हजार ४ सय २१ रुपैयाँ ४९ पैसा नगद, फलामे सामाग्री बापत ६० लाख ५० हजार ४ सय २१ रुपैयाँ ४९ पैसा, झोलुङ्गे पुल कार्यक्रमबाट २८ हजार ५ सय १० र समुदायबाट जनश्रमदान बापत १ लाख ९३ हजार ७ सय ४८ रुपैयाँ १६ पैसा सहित जम्मा रु ९६ लाख ८७ हजार ४ सय ७ रुपैयाँ ९९ पैसाको लागत मा झोलुङ्गे पुल निर्माण हुने भएको र यदि रकम समयमै उपलब्ध भएमा समयमै काम सम्पन्न हुने भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए ।

यो योजना गत बर्सनै सुरु गर्ने भनिएता पनि विविध कारणले रोकिएको थियो । अहिले आएर पुलको शिलान्यास नै समेत भइसकेपछि अब भने कामले गति लिने र तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफू आशावादी रहेको प्रदेश १ का प्रदेश सभा सदस्य झलकसिंह दर्लामीको भनाइ छ ।

यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बजेट अभावकै कारण पुल निर्माणमा समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोरोनाका कारण अन्य पूर्वाधार निर्माणको बजेट कटौती गरिएको भए पनि यो पुल निर्माणमा बजेट अपुग हुन नदिने बताए ।

गौरादह नगरपालिका ७ का वडाध्यक्ष बलराम खरेलका अनुसार यहाँ निर्माण हुने झोलुङ्गे पुलको लम्बाई १२० मिटरको हुने छ । पुल बनेपछि गौरादह नगरपालिकाको वडा नम्बर ७ सूर्योदय टोलबाट गौरदह ९ को त्रिवेणी चोक आवतजावत गर्न सहज हुने छ ।