धरान : सुनसरीको डुम्राहामा नव निर्मित प्रहरी कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ ।

कार्यालयको प्राङ्गणमा मंगलबार बिहान भएको एक विशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रूपमा उद्घाटन गरे ।

प्रहरी चौकी डुम्राहाको २ तले सुविधा सम्पन्न भवन युएनओपीएसको सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन सँगसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रूपान्तरण हुनु पर्ने बताए ।

सोही कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता तथा भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान समेत गरे ।

कार्यक्रम युएनओपीएस का प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न महिला सञ्जाल, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।