धरान: नेपाल आइपुगेको कोभिड विरुद्धको 'कोभिसिल्ड' खोप धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिबाट लगाइने भएको छ ।

नेपाल सरकारले बुधवारवाट देशव्यापी रूपमा कोभिड विरुद्धको खोप लगाउने तयारी अनुसार नै भोलिबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लयागतहरूलाई खोप लगाइने प्रतिष्ठानका सह-प्रवक्ता डा. चुणामणी पोखरेलले जानकारी दिए ।

कोभिड बिरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वास्थ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशन आएको सह-प्रवक्ता पोखरेलले जानकारी दिए ।

यस्तै, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल र स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूमा समेत खोप लगाउनका लागी निर्देशन आएकोले त्यसै अनुसार खोप लगाइने भएको छ ।

सह-प्रवक्ता पोखरेलले भने-'खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमा भोलि बिहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरु गरीने छ ।'

के हो कोभिसिल्ड खोप ?

कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको हो ।

सह-प्रवक्ता पोखरेलले भने 'यस खोप अन्य विभिन्न राष्ट्रहरूमा गरिएको परीक्षणमा ९० प्रतिशत सम्म प्रभावकारी भएको पाइएको छ । यसले शरीरमा कोभिड विरुद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनेछ ।'