धरान : स्याङ्जाकी एक महिलालाई झुटो विवरणको नागरिकताको सिफारिस दिएको आरोपमा फरार रहेका भनिएका धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल सञ्चारकर्मीको सम्पर्कमा आएका छन् ।

आज उनले आफ्नो वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई लगाइएको आरोप गलत र आफ्नो चरित्र हत्या गर्ने नियतले भएको दाबी गरेका छन् ।

उनका अनुसार २०७४ साल वैशाख ६ गते आफू वडाध्यक्ष हुनु भन्दा पहिले अर्घाखाँचीको तत्कालिन डिभर्ना गाविस-१ बाट धरान-३ मा बसाई सरी आएको धरान-३ मा प्रमाणपत्र बनेको थियो ।

त्यस बेला अर्घाखाँचीको डिभर्नाबाट बुबा गोपाल सेजुवाल, छोरीहरू मञ्जु सेजुवाल, साधना सेजुवाल र सहारा सेजुवालको नामको प्रमाणपत्र बनेको कटुवालले बताए । यसै गरी २०७४ साल वैशाख १९ गते बाबु गोपाल सेजुवाल र छोरा केशवराज सेजुवालको समेत नाता प्रमाणित गरेको पाइएको उनले बताए ।

धरान ३ वाट बसाईसरी ९ नम्बर वडामा आएको कागजात सहित आएकोले सबै कागजात पुगेर आफूले मञ्जु सेजवाललाई नागरिकताको सिफारिस दिएको स्वीकारे ।

अध्यक्ष कटुवालले सबै कागजात पुगेर आफूले सिफारिस दिएको बताउँदै मञ्जु सेजुवालको पहिले पनि नागरिकता थियो की थिएन र उनको बुबा गोपाल सेजुवाल हो की होइन भनेर डिएनए परीक्षण गरिएन दोहोरो नागरिकता र राहदानी निकालेकोमा मञ्जु सेजुवाल पक्राउ परे ।

यसमा मेरो व्यक्तिगत चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चारमाध्यमहरूमा समाचारहरू सम्प्रेषण भएकोमा कटुवालले आपत्ति समेत जनाएका छन् । पत्रकार सम्मेलन पछि कपुरी न्युजसँग टेलिफोनमा भने सम्पूर्ण सक्कल कागजातको आधारमा सिफारिस गरेको भन्दै उनले आफू दोषी भए बसाई सराई, नाता प्रमाणित गर्ने वडा नं ३ र त्यसको आधारमा नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालयका कर्मचारी पनि कारबाहीको भागीदार हुनुपर्छ । उनले आफू र वडा सचिवलाई मात्र फसाउने नियतले प्रहरीले मुद्दा दायर गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

आफू अस्वास्थ्य रहेको कारणले आफू पुस १४ गतेदेखि नै बिदामा बसेको तर पुस २३ गते विभिन्न सञ्चार माध्यममा पक्राउ पुर्जी जारी भएर अध्यक्ष फरार भन्ने समाचार आएको उनले बताए ।

तर, आफूले बुझ्दा प्रहरीले पक्राउ पुर्जीको अनुमति मागे पनि अदालतबाट तोक आदेश भएको पत्र आफूले नपाएकोले चरित्र हत्या हुने गरी प्रहरी मार्फत समाचारहरू प्रकाशन भएको भन्दै अध्यक्ष कटवालले आक्रोश पोखे ।

उनले भने, अव आफ्नो चरित्र हत्या गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रदेश सभा लगायतका सम्बन्धित निकायमा निवेदन दिने कपुरी न्युजसँग भने । यसबारेमा आफूले कानुनी परामर्श पनि गरिरहेको बताए ।

आफूलाई नितान्त व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले प्रहरीले मुद्दा दायर गरेको भन्दै उनले भने, नागरिकता प्रमाण पत्र दिने र राहदानी दिने व्यक्तिलाई चाही किन कारर्वाही नहुने ?

‘नागरिक वडा पत्रको आधारमा मैले कागजात सबै पुरा भएको छ भने त्यही दिन सिफारिस दिने भन्ने आधारमा सिफारिस गरेको हुँ,’उनले भने,‘ २ वर्षअघिकै बसाइसराइमा जन्म मिति २०५५ फागुन १० भन्ने छ । मैले यसको आधारमा सिफारिस गर्न मिल्ने कि नमिल्ने ?’ उनले सिफारिस गरिसके पछि इलाका प्रशासन कार्यालयले नाता प्रमाणित र बसोबासको सिफारिस मागेको र आफूले दिएको उनले बताए । नागरिकता बनी सकेपछि मञ्जुले फोटोकपी ल्याएर बसोबास र बाउ, छोरीको नाता प्रमाणित गरिदिएको उनले बताए ।

स्याङ्जा घर भएकी मञ्जु क्षेत्रीले अर्घाखाँची घर भएका गोपाल सेजुवालको छोरी बनेर धरानबाट नागरिकता झिकेकी थिइन् । उनलाई पुस १ गते स्याङ्जा प्रहरीले पक्राउ गरेको थियो । त्यस पछि २ बर्षअघि धरानबाट झुटो विवरण पेस गरेर नागरिकता झिकेको खुलेको थियो ।

स्याङ्जा प्रहरीले थप कारबाहीको लागि उनलाई अड्डासार गरेर धरान पठाएको थियो भने सोही प्रकरणमा वडा नं ९ का अध्यक्ष कटवाल, वडा सचिव रञ्जु भुजेल पनि अनुसन्धानमा तानिएका थिए ।

अध्यक्ष कटुवाल गएको आइतबार आफै जिल्ला अदालत सुनसरीमा उपस्थित भएको र आफूलाई २ लाख ३० हजार धरौटी तोकिएको छ । यता प्रहरीले भने यो मुद्दा अझै टुङ्गी नसकेकोले अरू अनुसन्धानहरू हुँदै मुद्दा चलिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

Basai-Sarai-Pramanpatra
धरान उपमहानगरपालिका ३ नम्वर वडाबाट जारी गरिएको बसाई दर्ताको प्रमाणपत्र