विराटनगर : प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

आज प्रदेश १ मा खोप अभियानको सुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम सुरु भएको बताए ।

उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन सुरु गरिने बताए । सरकारले सवै व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाउने मन्त्री कार्कीले बताए । जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको उनले बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा कार्यक्रमको सुरुवात गरिएको छ । आज ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

उनकाअनुसार पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३-३ र अन्य जिल्लामा १-१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए ।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिई सकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा आज कार्यक्रम सुरु भएको उनले बताए । बिहीबार ४ र शुक्रवार २ जिल्लामा खोप कार्यक्रम सुरु हुने बस्नेतले बताए ।

कोभिड विरुद्धको खोप लगाई सकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले भ्याक्सिन सुरक्षित रहेकाले डराउनु नपर्ने बताए । उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए ५ महिना सम्म सुरक्षित रहन सकिने उनले बताए ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ७ सय ७६ लाई खोप लगाईदैछ ।