धरान : धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड १९ विरुद्धको “कोभिसिल्ड” खोप लगाउन सुरु गरिएको छ ।

आज बिहान साढे १० बजे प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै अभियानको शुभारम्भ गरेका छन् । नेपाल सरकारले बुधवारबाट देशव्यापी रूपमा कोभिड विरुद्धको खोप लगाउने तयारी गरे अनुसार नै आजबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लयागतहरूलाई खोप लगाउने कार्य सुरु भएको उपकुलपति गिरीले जानकारी गराए । खोप लगाएपछि आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको र खोप शतप्रतिशत सुरक्षित रहेको उनले बताए ।

Covid-Vaccine-9

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साह समेतले खोप लगाएका छन् ।

पदाधिकारीहरूबाट खोप लगाउने कार्य सुरु गरी खोप सुरक्षित रहेको सन्देश प्रवाह गरिएको रजिस्ट्रार रेग्मीले जानकारी गराए । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १ सय ५० भाइल खोप आइपुगेको सँगै खोप कार्यक्रम सुरु गरिएको हो ।

Covid-Vaccine-5

१ भाइल खोपमा ५ एमएल हुन्छ, एक जनालाई ०.५ एमएल खोप लगाउनुपर्ने प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले बताए ।

‘एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ भने १ सय ५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ ।’ डा. बरालले भने, खोप लगाएपछि ३० मिनेटसम्म राख्नका लागी व्यवस्था गरिएको छ ।

Covid-Vaccine-4

खोप लगाएको व्यक्तिलाई केही समस्या देखिन्छ भनी सावधानीका लागी उक्त प्रक्रिया गरिएको हो । केही भएमा उपचारको लागी सम्पूर्ण व्यवस्था रहेको छ ।’

खोप लगाउनको लागि ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था रहेको उनले बताए । प्रतिष्ठानमा कार्यरत २५ सय स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप लगाइनेछ । पहिलो चरणको खोप कार्यक्रम एक साता सम्म चल्ने डा. बरालले जानकारी गराए ।

Covid-Vaccine-7

यसै गरी धरान उपमहानगरपालिकामा रहेर अग्रपंत्तीमा खटिएका हरूलाई विजयपुर हस्पिटलमा कोभिड विरुद्धको खोप लगाईदैछ ।

अस्पतालको तर्फबाट निर्देशक प्रभाव खतिवडा र धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तर्फबाट महाशाखा प्रमुख उमेश मेहेताले पहिलो खोप लगाएका थिए ।

Covid-Vaccine-2

विजयपुर हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरू १ सय ३६ जना र धरान उपमहानगरपालिकामा फ्रन्ट लाइनमा खट्ने स्वास्थ्यका कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्नहरू गरी जम्मा ३ देखि ४ सय जनालाई खोप लगाइने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । अहिले खोप कार्यक्रम जारी रहेको छ ।

Covid-Vaccine-1 Covid-Vaccine-3