विराटनगर : नेकपा दाहाल-नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन् ।

विपक्षी दलको सहयोगमा मुख्यमन्त्री राई विरुद्धको प्रस्ताव पारित हुने उनको दाबी छ । प्रदेश सरकार अल्पमतमा परिसकेको उनले बताए । संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रदेश सांसदहरूसँग छलफल भइरहेको नेता आचार्यले बताए ।

अविश्वास प्रस्ताव पारित भएपछि सरकार गठनबारे छलफल अघि बढ्ने उनले बताए । दाहाल-नेपाल समूहका प्रदेश १ संसदीय दलका नेता समेत रहेका आचार्यले भने,‘ अहिले अविश्वास प्रस्ताव पारित गर्नेमा ध्यान केन्द्रित गरेका छौँ, प्रस्ताव पारित पछि सरकार गठनबारे छलफल अघि बढ्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता भए राजीनामा दिन नेता आचार्यले सुझाव दिए । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उनको जिकिर छ । काम चलाउन सरकारले दीर्घकालीन निर्णय गर्न नसक्ने उनले बताए । उनले संसद् पुनर्स्थापना भएरै छाड्ने बताए । नेता आचार्यले भने,‘ वैशाखको निर्वाचन नाटक हो ।’

माघ १६ गते विराटनगरमा आयोजना गरिएको विरोध कार्यक्रम बारे जानकारी दिन बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले विरोध कार्यक्रम भव्य हुने बताए । विरोध कार्यक्रममा ६० हजार बढी व्यक्तिको सहभागिता रहने बताए । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संवोधन गर्ने कार्यक्रम भव्य हुने उनले बताए ।