धरान : धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ ।

धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुख सहितको टोलीले आज आवश्यक पर्ने औजार सामाग्रीहरू हस्तान्तरण गरेर अभियानको सुरु गरेको हो ।

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका वरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।

वरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछ । उनले भने, ‘हामीले धरान उपमहानगर भरिका १५, १६ वटा आयोजनाहरू छनौट गरेका छौँ, त्यो मध्ये एउटा महत्त्वपूर्ण योजना यो ड्रेनको माटो सफा गर्ने रहेको छ, २० नं. वार्डमा । २० नं. वडामा १५ जनाले रोजगार पाएका छन् ।

उनीहरूले आजबाट काम गर्न थालेको बताए । उनले क्रमशः धरान उपमहानगरका १ सय ५७ जनालाई नै एक सय दिनका लागि काम दिने बताउँदै भने अरू वार्डहरुमा कामहरू गर्दै जाने बताए । यसपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै बजेट आउने जानकारी दिए ।

‘यो युवाको कार्यक्रममा विशेष गरेर १८ वर्ष नाघेको र ५९ वर्ष भित्रको मात्र अहिले काम गर्ने रहेको छ ।, उनले भने, त्यो देखि पछाडि अर्को प्रधानमन्त्री रोजगार कार्यक्रममा चाहिँ ५९ वर्ष नाघेका मानिसहरूले पनि काम गर्न सक्छन् ।

त्यसमा थप आयोजनाहरू छनौट गरेर काममा लगाउनेछौ ।’ अरू वार्डहरुमा काँहि ड्रेन सफा गर्नेछन्, काँहि खहरे खोला सरसफाइ गर्नेछन्, ४ नं। वार्डमा एउटा बाटोको ट्र्याक बनाउनेछन् । उनले क्रमशः २० वटै वार्डहरुमा छनौट भएका कामहरू गर्दै जाने बताए ।

धरान उपमहानगरका मेयर तिलक राईले एक सय दिनको कामले कम्तीमा रोजगारदाताको गुजारा चल्ने बताए । मेयर राईले भने, ‘आफ्नै घर गाउँको नाला, ड्रेन खन्ने,समाजमा काम पनि देखिने गरी राज्यले यस्तो परिकल्पना ल्याएको हो ।’

गत वर्ष धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थोरै बजेट र ढिलो योजना आएको कारण त्यति धेरै प्रभावकारी हुन सकेको थिएन । तर यस वर्ष भने थुप्रै मानिसहरू रोजगारबाट लाभान्वित हुने अपेक्षा गरिएको मेयर राईले बताए ।

धरान उपमहानगरले रोजगार कार्यक्रम अन्तर्गतको काम आजबाट सुरु गरेको बताउँदै अबदेखि रोजगारदाताहरू राज्यको सूचिमा परेको उनले बताए । ‘यो काम मेरो अधिकार हो ठेकेदारको काम होइन' उनले भने । मेयर राईले निरन्तर सय दिन खटेर आफ्नो जिम्मेवारी, कर्तव्य र अधिकार पुरा गर्न आग्रह गरे ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यस कार्यक्रमको लक्ष्य रहेको बताए ।

वाडा नं. २० का वडाध्यक्ष मणिराम राईले आफ्नो वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३१ जनाले फारम भरेकोमा १५ जना छनौट भएको बताए । उनका अनुसार विष्णुपादुका सडक अन्तर्गत देविगाउँदेखि भन्ज्याङसम्मको ड्रेनको माटो फाल्नु पर्नेछ । लगभग ४/६ किलो मिटर छ ।

उहाँले रोजगारदातालाई आफ्नो काम, आफ्नो गाउँ आफै बनाऊ भन्ने उद्देश्य लिएर काम गर्न सुझाव दिए । उपमहानगरपालिकाले त्यहाँ खटिएका श्रमिकहरूलाई माटो फ्याल्ने ठेलागाडी २ थान (आवश्यकता अनुसार थप्ने), बेल्चा ५ थान, सेप्टी टोपी र एप्रोन हस्तान्तरण गरे ।

PM-Rojgari-2