धरान : आदिवासी जनजाति साहित्यकार महासङ्घले आदिवासी समुदायका स्रष्टाहरू बिच साहित्यका सिर्जना बारे छलफल गर्न दुई दिने राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । आउँदो फागुन २९ र चैत १ गते हुने भेला भर्चुअल माध्यमबाट हुनेछ । महासङ्घको आइतबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको गरेको संयोजक राजन मुकारुङले बताएका हुन् । पहिलो बैठक पनि भर्चुअल माध्यममा भएको थियो ।

सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पुर्याउनका लागि भन्दै महासङ्घले भेला आयोजना गर्न लागेको हो ।

भेलामा केन्द्रीय समिति, राज्य समिति र प्रवास प्रतिनिधिहरूको सहभागिता रहने छ । संयोजक मुकारुङका अनुसार भेलामा आदिवासी सीमान्तकृत समुदायका मुद्दाहरू साहित्य र सिर्जना मार्फत बुलन्द गर्न स्रष्टाहरू बिच रणनीति तय गर्न छलफल हुनेछ । उनले भने ‘राज्यको एकात्मक चरित्रविरुद्ध स्रष्टाहरू वैचारिक हिसाबले क्रियाशील रहनेछन् ।’ राष्ट्रिय भेलाले सङ्गठनको विधि विधान र आगामी कार्य योजनाहरूको तय गर्ने उनले बताए ।

बैठकमा सहभागी कवि लेखक अमित थेबेका अनुसार केन्द्रीय सदस्य डा. विष्णुकुमार सिञ्जालीको संयोजकत्वमा पाँच सदस्यीय विधान तयारी समिति गठन गरेको छ । समितिका सदस्यहरूमा डा. सोमबहादुर धिमाल, उत्तम सुनुवार, सीता तुम्खेवा र उर्मिला गम्वा थारु छन् । समितिलाई फागुन १५ गतेसम्म विधान निर्माण गर्न जिम्मेवारी तोकिएको छ ।

भेलाको तयारी स्वरूप बैठकले राज्य समितिहरूलाई पूर्णता दिने निर्णय गरेको छ । सबै राज्य समिति र सम्भव भएका प्रवास समितिहरूलाई फागुन १५ गतेसम्म पूर्णता दिइने सचिव बुद्ध योञ्जन लामाले बताए । पहिलो बैठकमा केन्द्रीय समिति, राज्य समिति संयोजकहरू र विभिन्न मुलुकका प्रवास संयोजकहरू सहभागी भएको थिए ।
गएको माघे सङ्क्रान्तिको दिन घोषणा भएको साहित्यकार महासङ्घको ३४ सदस्यीय केन्द्रीय तदर्थ समिति, आठ राज्य समिति संयोजक र १४ प्रवास संयोजकहरू घोषणा गरेको थियो । महासङ्घलाई नेपाल आदिवासी जनजाति महासङ्घले सम्बद्ध संस्थाका रूपमा मान्यता दिएको छ ।