इटहरी : पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश १ मा काँग्रेसले आफ्नो हित हेरेर निर्णय गर्ने बताएका छन् ।

पाथीभरा एडभर्टाइजिङ्ग प्रालिको सातौँ बार्षिक उत्सव कार्यक्रमलाई इटहरीमा सम्बोधन गर्दै उनले काँग्रेसले पार्टी र जनताको हितमा निर्णय गर्ने बताए ।

प्रदेश १ र बाग्मती प्रदेशमा सरकार विरुद्ध परेको अविश्वास प्रस्तावमा काँग्रेस निर्णायक अवस्थामा छ । काँग्रेसले सोचेर मात्र निर्णय गर्ने भन्दै कार्कीले केन्द्रीय समितिको निर्णय पछि काँग्रेसको धारणा सार्वजनिक हुने बताए ।

अदालतले दिने निर्णयलाई आफूहरू स्वीकार गर्ने भन्दै उनले निर्वाचनको बाटोमा लाग्नु पनि उपयुक्त हुने तर्क गरे । काँग्रेस निर्वाचन देखि नभाग्ने भन्दै कार्कीले संसद् पनि नरहने र निर्वाचन पनि नहुने अवस्था आए काँग्रेसले थप कदम चाल्न सक्ने बताए ।

नेकपाको शक्ति संघर्षको कारण देश बर्बादी तर्फ गएको उनको बुझाइ छ। देशलाई नारामा हैन वास्तविक विकासको बाटोमा काँग्रेसले डोर्‍याउन चाहन्छ।, उनले भने, काँग्रेस यो सङ्कटलाई निर्णायक भूमिका निर्वाह गरेर देसलाई सही दिशा दिन चाहन्छ । मुलुक अस्थिरता तर्फ जाने बाटोबाट रोक्न हामी तत्पर छौ ।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले देशको समृद्धि र आर्थिक विकास कम्युनिस्टको हातबाट नहुने पक्का भइसकेको प्रस्ट पारे ।