धरान : धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी लगायत अन्य जनप्रतिनिधीहरुले कोरोना विरुद्धको खोप लगाएनन् ।

धरानमा कोरोना विरुद्धको दोस्रो प्राथमिकतामा १६ सय जनाका लागी खोप आएको थियो । धरानको पुरानो अस्पताल छाता चौकमा रहेको धरान स्वास्थ्य चौकीमा फागुन ३,४ र ५ गते ३ दिन कोरोना विरुद्धको खोप लगाइएकोमा आज थप एक दिन खोप लगाउने समय थप्दा पनि जनप्रतिनिधिहरू र पत्रकारहरू खोप लगाउन अत्यन्तै कम आएको बताइएको छ ।

मेयर तिलक राईले त्यो बेलाको लकडाउनमा पिसिआर परीक्षण गर्छु भन्नेले पाएनन् अहिले खोप लगाउँछु भन्नेले खोप लगाउन पाएका छैनन् । त्यतिखेरको कोरोना महामीरमा केही नभएको र हाल पनि आफू स्वास्थ्य भएकाले र आफूलाई जरुरी नलागेकाले खोप नलगाएको बताए ।

उपमेयर मञ्जु भण्डारी सुबेदीले सुरक्षाकर्मी, सरसफाईकर्मीहरुले खोप नपुगिरहेको बेला र आफू कोरोना सङ्क्रमित पनि नभएको र पहिलाको जस्तो डर पनि नभएकाले खोप नलगाएको बताइन् ।

धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले पुन: म्याद थप गरेपछि लगाउने बताए । धरान-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले अग्रपङतीमा रहेर काम गर्ने मानिसले अझै लगाउन नपाएको समयमा खोपप्रति विश्वास भए पनि आफूलाई कुनै लक्षण नभएकाले नलगाएको र नलगाउने बताए ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार पहिलो दिन ९० जना, दोस्रो दिन १ सय ९० जना र तेस्रो दिन बुधवार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आज ९० जना गरी ६ सय ३० जनाले धरानमा कोरोना विरुद्धको खोप लगाएका छन् ।