धरान : नेपाल सरकारको दोस्रो प्राथमिकतामा परेकाहरूका लागि धरान उपमहानगरपालिकामा भोलि शनिवार पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

दोस्रो प्राथमिकता परेकाहरूलाई लक्षित गरेर १६ सय जनालाई खोप लगाउने अभियान अन्तर्गत यस भन्दा अघि धरानमा ४ दिन सञ्चालन भएको खोप अभियानमा अधिकांश जनप्रतिनिधि र पत्रकारहरूले खोप नलगाएको कारण उनीहरूकै अनुरोधमा भोलि शनिवार एक दिन कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

खोप अभियान भोलि शनिवार बिहान १० बजे देखि ४ बजे सम्म धरानको छाता चौकमा रहेको पुरानो अस्पतालमा सञ्चालन हुदैछ । दोस्रो प्राथमिकतामा परेका सबैलाई खोप लगाउन स्वास्थ्य महाशाखाले आव्हान पनि गरेको छ ।यस भन्दा अघिको खोप अभियान कार्यक्रममा १६ सय जनालाई लक्षित गरिएकोमा ६३० जनाले मात्रै कोरोना विरुद्धको खोप लगाएका थिए ।