धरान : धरानमा फागुन २८ र २९ गते दुई दिन अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

धरानलाई साहित्यिक बहुसांस्कृतिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्नका लागी फागुन २८ र २९ गते धरान १३ को अमरहाटमा महोत्सव आयोजना हुने भएको धरान–१३ को कला साहित्य प्रतिष्ठानकोले जनाएको छ । लकडाउन पछिको यो पहिलो ठुलो महोत्सव धरानमा हुने भएको हो ।

प्रतिष्ठानको आयोजनामा हुने महोत्सव सम्पन्न गर्न साहित्यकार बम देवानको संयोजकत्वमा १७ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिएका छन् ।

नेपाल र भारतका साहित्यकारहरूलाई भेला गरी साहित्यिक पर्यटन महोत्सवमा गजल, कविता गोष्ठीको आयोजना गरिएको समितिका अध्यक्ष वम देवानले बताए । देवानका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, नृत्य प्रदर्शनी लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि गरिनेछन् ।

महोत्सवमा विभिन्न जातीय संस्कृति झल्कने नृत्य प्रदर्शन गरी पाहुनाहरूलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ । समितिका अनुसार भारतबाट ५० तथा नेपालका एक हजार साहित्यकारहरूलाई महोत्सवमा निमन्त्रणा गरिएको छ । आगन्तुक साहित्यकारहरूलाई धरानका पर्यटकीय क्षेत्रहरूको अवलोकन गराएर साहित्यको माध्यमबाट धरानको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रज्ञा गङ्गा उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना हुने साहित्यिक महोत्सवमा भारतका साहित्यकार र नेपालका वरिष्ठ साहित्यकार सहभागी रहने साहित्यकार डा. भीम खतिवडाले जानकारी दिए ।

महोत्सव भव्य रूपमा सम्पन्न गर्न आयोजकले आर्थिक सङ्कलन तथा सहभागीलाई बस्न र खानका लागि उचित व्यवस्थापनको तयारी थालिएको उनले बताए ।