धरान : इलाका प्रहरी कार्यालय धरानमा नायक पल शाह विरुद्ध ठाडो उजुरी परेको छ ।

धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार काठमाडौँ घर भएका ३० वर्षीय नायक शाह विरुद्ध धरान ८ बस्ने चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले उजुरी हालेका हुन् ।

प्रदेश १ मा गीत सुटिङमा आएका शाह खाना खान धरान १० को ज्वाँई खाना घरमा पुगेका थिए । शाहलाई खँदा लगाएर सम्मान गर्ने क्रममा पनि पल फोटो खिच्न मानेका थिएनन् ।

फागुन १५ गते होटल रत्न इनमा नेपाली चलचित्रको प्रभाव सम्बन्धी कार्यक्रममा निमन्त्रणा गर्न आउन नमाने पछि प्रधानले अतिथिको नाम फेसबुकमा राखेकाले हटाउने बताएका थिए । प्रधानले नाम हटाउने बताए पछि सामान्य भनाभन भएको थियो । सो क्रममा झगडा भएको थियो ।

प्रधानले भने 'हामी अर्को टेबलमा बसेका थियौ । सोही क्रममा शाहले गुन्डा शैलीमा धरानमा चिनेका साथीलाई फोन गरेर १५ जनाको समूह बोलाएको र अपशब्द बोलेका थिए ।

त्यस पछि कुटाकुट सुरु भएको थियो तर, हाम्रा साथी भाइले बचाएका हुन । सोही क्रममा शाहका सेक्रेटरी कृष्ण प्रसाद जोशीले र अन्यले प्रधानलाई मुक्का हानेका थिए ।

त्यसैले कलाकारले अन्यसँग गर्ने व्यवहार ठिक नभएको भन्दै उनले भने भोलिको छलफलमा पलको समूहले माफी मागेर गल्ती स्वीकार नगरे गुन्डा शैलीको विरोध गर्दै प्रदेश नं १ का सबै हलमा विज्ञप्ति निकालेर शाहका सबै फिल्म प्रतिबन्ध गर्ने प्रधानले बताए ।

प्रधानले सिसी फुटेज समेत हेर्न माग गर्दै कारबाहीको माग गरेका छन् । डिएसपी बस्नेतले भने भोलि शुक्रवार २ बजे दुवै पक्षलाई राखेर छलफल गर्छौं , नमिलेको खण्डमा उजुरी अनुसार मुद्दा पनि चल्न सक्छ भनेका छन् ।