झापा : महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेला यस पटक नलाग्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी कारण किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले यसबर्ष किचकबध मेला नलगाउने निर्णय गरेको हो । हरेक वर्ष माघ शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन स्वतःस्फूर्त रूपमा किचकवध मेला लाग्दै आएको छ । यसबर्ष फागुन १५ गते शनिवार भोलि किचकवध मेला लाग्ने दिन परेको छ ।

कोरोना महामारीका कारण सरकारले अत्यधिक भिडभाड नगर्न निर्देशन जारी गरेकोले यस वर्ष किचकबध मेला नलगाउने निर्णय गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए ।

समितिले हरेक वर्ष ठेक्का प्रक्रियाबाटै मेलाको आयोजना गर्दै आइरहेको बताउँदै अध्यक्ष थेबेले भने, ‘यसबर्ष मेला नलगाउने भएपछि कुनै ठेक्का लगाइएन । मेला नलागे पनि धार्मिक आस्था लिएर पूजाआर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूलाई कुनै रोकटोक लगाइने छैन ।

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकवधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास छ ।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक चलन छ । भक्तजनहरूले भीमसेनले किचकलाई वध गरेको मुर्तिमा समेत पूजाआर्चना गर्छन् । वर्षमा एक पटक लाग्ने यस मेलामा झापा सहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो लाग्छ ।

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।

सोही कथा वस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो । किचकवध मेलाको उपलक्षमा भद्रपुर नगरपालिका, कचनकवल, बाह्दशी र हाल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिँदै आइरहेका थिए ।

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामको कानुनी प्रावधान सीमा नाका र धार्मिक क्षेत्रमा मात्र लागु गराउने गरेकोमा स्थानीयले गुनासो पोखेका छन् ।

राजनीतिक दलहरूले हजारौँ कार्यकर्ता सडकमा ओरालेर सभा, जुलुस र भेला गराउनु हुने तर सीमा नाका खुलाउने र धार्मिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति स्थानीय असन्तुष्ट बनेका छन् ।