इटहरी : इटहरी-२ तालतलैया नजिकै आकर्षक 'इप्पी ल्यान्ड एन्ड वाटर पार्क' सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको हो । 

कोभिड महामारीको कारण सञ्चालनमा ढिलाइ भएको सञ्चालक मध्येका एक भीम बहादुर पौडेलले बताए । पूर्वकै केन्द्र मानिएको इटहरी वडा नं २ मा शान्त वातावरणमा इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको उनको दाबी छ ।  

सहरमा मनोरञ्जनको लागि व्यवस्थित पार्क आवश्यक पर्ने भन्दै  परिवारसँग रमाइलोसँग बिताउन वा बिदाको दिन परिवारसँग घुम्नको लागि उपयुक्त वातावरण उपलब्ध गराइएको हो  ।  

६ बिघा क्षेत्रफलमा ३० करोडको लगानीमा सञ्चालनमा ल्याइएको सञ्चालकको दाबी छ । पार्कले इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने बताइएको छ । 

पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क सञ्चालनमा आएको हो । 

Yippee-land-3

पूर्वको सबैभन्दा ठुलो वाटर पार्क रहेको दाबी गर्दै सञ्चालक भीम पौडेलले पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड समेत राखिएको बताए ।

एक दिनमा ५ हजारले अवलोकन गर्न सकिने पार्कमा एकै पटक ६ सय मानिसले मनोरञ्जन लिन सक्ने उनको भनाइ छ ।

'जिप लाइन टावर सहित वाल क्लाइम्बीङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ' - उनले भने  । 'केही पछि हिउँबाट आनन्द लिन व्यवस्था मिलाइने छ ।'

पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य राखिएको उनले प्रस्ट पारे । अहिले ६० जनाले प्रत्यक्ष रोजगारी पाएकामा र पछि ६ सय जनासम्मले रोजगारी प्राप्त गर्ने उनले बताए ।

पार्कको विधिवत् उद्घाटन भने यही मिति २०७७ फागुन १७ गते हुने भएको छ । उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालद्वारा गरिने पौडेलले जानकारी दिए ।

yippee-land-4

yippee-land-2