झापा : झापाको बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रीक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् ।

सोमवार सम्पन्न मतगणना अनुसार अध्यक्षका प्रत्यासी नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानलका उम्मेदवार सुवास भट्टराईलाई ५२४ मतान्तरले पराजित गर्दै शिवाकोटी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेस समर्थक लोकलान्त्रीक प्यानलका उमेद्बार हुन् ।

लोकतान्त्रिक व्यवसायिक प्यानलकातर्फबाट उम्मेदवार बनेका शिवाकोटीले २१३९ मत प्राप्त गरेका छन् भने नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानलका तर्फबाट उम्मेदवार बनेका भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । उनले नारायण चिमरियालाई पराजित गरेका छन् । न्यौपानेले पनि चिमरियालाई ५२४ मतले पराजित गरे । न्यौपानेले २११६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी चियरियाले १५९२ मत प्राप्त गरेका छन् ।

उद्योग सचिवमा सञ्जीव घिमिरे निर्वाचित भएका छन् । उनले १९४० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रकाश घिमिरेले १७१८ मत प्राप्त गरेका छन् । सञ्जीव र प्रकाशको मतान्तर २२२ रहेको छ ।

वाणिज्य उपाध्यक्षमा भने राजकुमार घिमिरे राजु निर्वाचि भएका छन् । उनले २२७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण घिमिरेले १३२३ मत प्राप्त गरेका छन् ।

संघको महासचिवमा नेकपा समर्थित व्यवसायी अर्जुन मैनाली बिजयी भएका छन् । उनले रविन्द्र भट्टराईलाई पराजित गरे । मैनालीले १८४३ मतप्राप्त गरेका छन् भने लोेकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका भट्टराईले १८१७ मत प्राप्त गरेका छन् । मैनाली र भट्टराईको मतान्तर २६ रहेको छ ।

उद्योग सचिवमा कुशल खतिवडा निर्वाचित भएका छन् । उनले २५५० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी धनवहादुर डाँगीले १०६३ मत प्राप्त गरे । वाणिज्य सचिवमा भने संयुक्त व्यवसायी प्यानलका तर्फबाट उम्मेदवार बनेका कृष्ण पौडेल निर्वाचित भएका छन् । उनले १९६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राजकुमार शाहले १६७४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने दीपेन्द्र राउत निर्वाचित भएका छन् । उनले २१२२ मत प्राप्त गरे । कोषाध्यक्षका प्रतिस्पर्धी दुर्गाप्रसाद थपलियालाई पराजित गरेका छन् । थपलियाले १५२४ मत प्राप्त गरे ।

सहकोषाध्यक्ष महिलामा राधिका चुडाल निर्वाचित भएकी छिन् । उनले १९७० मत प्राप्त गरिन् । सहकोषाध्यक्षकी प्र्त्यासी उम्मेदवार रञ्जु प्याकुरेललाई पराजित गर्दै हुमागाँई निर्वाचित भएकी हुन् । प्याकुरेलले १६२४ मत प्राप्त गरिन् ।

संघको सदस्य पदमा भने गुञ्जन प्रसाईं-२००८, गौरीशंकर गुप्ता टिंकु -१७९०, जीवनकुमार खड्का-१९१८, दीपक मित्तल-१८९९, बलराम सिटौला १८६१, विशाल थापा-२०९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

सदस्यका प्रत्यासी उम्मेदवार गोविन्द कार्की-१६४०, बलबहादुर लिम्बू बिसन-१७७५, भगीरथ लुइँटेल-१४२२, मनोजकुमार शाह-१७३२-, सन्नी गोयल-१७१६, सूर्यकुमार खतिवडा-१६४६-ले मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा भने तुलसा खनाल ढकाल र रुची शिवाकोटी निर्वाचित भएकी छिन् । ढकालले २१९५ मत प्राप्त गरिन् भने शिवाकोटीले २०७६ मत प्राप्त गरिन् । सृजना अग्रवाल सोनीले १७६६ मत प्राप्त गरेकी छिन् ।

आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । जसमा लागि ३९ जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक शेखर ढकालले बताए । 

जसमा जनसम्पर्क उपाध्यक्ष महिला एक, खुल्ला सदस्य दुई, सदस्य महिला एक गरी चार जनाको उम्मेदवारी रद्द भएको थियो । जनसम्पर्क उपाध्यक्ष महिला पदका लागि उर्मिला विमली खरेलको उम्मेदवारी रद्द भएसंगै जनसम्पर्क उपाध्यक्ष महिलामा नैनकला भट्टराई यस अघि नै निर्विरोध भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।

सोमबार भएको मतदानमा ८४.८० प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार निर्वाचनमा तीन हजार आठ सय ४९ मत खसेको हो ।