ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गम क्षेत्र दोभान बजारमा एका बिहानै भिषण आगलागी भएको छ ।

बिच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म बजार पसल सहित करिब ३० वटा जति घर जलेको र नियन्त्रणको कुनै सम्भावना नरहेको स्थानीय दीपेश कार्कीले जानकारी दिए ।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठुलो र व्यस्त बजार मानिन्छ । सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन् ।

स्थानीय व्यवसायी भोला पौडेलको घर नजिकबाट आगो सुरु भएको स्थानीयले जनाएका छन् । आगो नियन्त्रणका लागि स्काइभेटरको प्रयोग गरेर केही घर भत्काउने कार्य पनि भइरहेको छ । दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको बताइएको छ ।

फुङ्लिङ बजारमा रहेको वारुण यन्त्र समेत आगलागीग्रस्त क्षेत्रतर्फ पठाइएको छ । कच्ची बाटो भएको र पुग्नै समय लाग्ने भएकोले वारुण यन्त्र पुगिसक्दा आगोले निकै क्षति गरिसक्ने स्थानीयले बताएका छन् ।

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले आफूहरू आगलागीग्रस्त क्षेत्रतर्फ लागिसकेको जानकारी दिए ।