उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धरानका १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो ।

उनलाई सरकारी वकिल कार्यालयमार्फत आज (मङ्गलवार) नै अदालतमा पेस गर्ने तयारी छ। मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

गिरी आइतबार साँझ पक्राउ परेका थिए ।यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका-१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन् । उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन् । फरार भएकाहरूको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए