झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन त्यति सहज नभएको दोहोर्‍याएका छन् ।

केही गरी प्रधानमन्त्री पद त्याग्नुपरेमा आफूले कुनै छलछाम नगरी सहज रूपमा हासिखुसी पद छाडिदिने र आगामी निर्वाचनमा पुनः दुई तिहाइ बहुमत ल्याएर फेरी सिंहदरबार प्रवेश गर्ने उनले उदघोष गरे ।

झापाको बिर्तामोड नगरपालिका स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा आफूलाई कुनै असर नगर्ने पनि बताए । उनले संसद्को आगामी अधिवेशनले अबको राजनीतिको रोड म्याप तयार पार्ने उल्लेख गरे ।

आफ्नो मन्तव्यको अधिकांश समय विकास निर्माणका विषयमा खर्चिएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विगत तीन वर्षमा धेरै उपलब्धि हासिल गरेको बताए ।

अब मुलुकमा उद्योग कलकारखाना स्थापनाको लहर चलेको बताउँदै प्रधानमन्त्री ओलीले रोजगारीकै कारण बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्न वर्तमान सरकार लागि परेको धारणा पनि राखे ।

प्रधानमन्त्री ओलीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन वर्तमान सरकार क्रियाशील रहेको बताए ।

उनले सरकारको यो लक्ष्यमा विभिन्न बाधा व्यवधान आए पनि त्यसलाई पन्छाउँदै आफूहरू अगाडी बढेको उल्लेख गरे । उनले आफूहरूको लक्ष्य सबै नेपालीलाई खुसी राख्ने भएकाले धेरै कामहरू गरिरहेको भन्दै अहिलेसम्म वर्तमान सरकारले पछिल्लो ३ वर्षमा गरेका कामका बारेमा जानकारी समेत गराए ।

उनले सडक बालबालिका र सहयोगापेक्षी सडक मानवको व्यवस्थापनमा सरकारले खेलेको भूमिकाका विषयमा समेत आफ्नो धारणा राखेका थिए ।

करिब छ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको क्षमता तीन सय शय्याको भए पनि हाल एक सय शय्यामा सञ्चालनमा रहेको अस्पतालका कार्यकारी निर्देश दुर्गा प्रसाईँले जानकारी दिए ।

सबै खाले क्यान्सरको उपचार गर्ने उद्देश्यका साथ निर्मित अस्पतालमा सम्पूर्ण उपकरण जडान गरिएको प्रसाईँको भनाइ थियो । उनले आफुपनि क्यान्सरको पीडित भएकाले आफूले जस्तो दुख अरूले नपाउन भन्नका निमित्त पनि अस्पताल सञ्चालनमा ल्याएको बताए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत अन्य विशिष्ट ब्याक्तीत्वहरुको समेत उपस्थिति रहेको थियो ।

पूर्वका क्यान्सर रोगीहरूलाई मध्यनजर गर्दै सञ्चालनमा आएको अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू आउने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।