धरान : पूर्वी पहाडी जिल्ला ताप्लेजुङको दोभान बजारमा लागेको आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

मङ्गलवार बिहान सवा ९ बजे देखि भोला पौडेलको घरबाट सुरु भएको आगलागीले दोभान बजारका ४९ घर जलाएको छ । ३३ घर धनीका ४९ घर जलेको र ५५ परिवार आगलागीबाट विस्थापित भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खडकाले जानकारी दिएका छन् ।

ताप्लेजुङ जिल्लाकै दोस्रो ठुलो बजार तथा मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला र मिक्वा खोलाको सङ्गम स्थल र व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगलागीको अहिले सम्म क्षतिको विवरण आएको छैन ।

करिब ७५ घर रहेको दोभान बजारमा मङ्गलवार भएको आगलागीले ५५ परिवार मध्ये २२ परिवार पुर्णरुपमा विस्थापित भएका छन् । बिहान सवा ९ बजे देखि लागेको आगलागीलाई नियन्त्रणमा लिन एउटा घर एक्स्काभेटरे भत्काउनु परेको थियो । अनि मात्रै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

आगलागीलाई फुङलिङ र पाँचथरको फिदिमबाट पुगेको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । अझै पनि जलेका घरको पुरिएको स्थानबाट धुवा आइरहेकोले उच्च सतर्कता अपनाइएको बताइएकोछ ।

आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा भने बुधबार बिहान देखि लगत सङ्कलन गर्ने बताइएको छ ।दोभान बजारमा लागेको आगो फैलिएर मेरिङदेन जङ्गलमा डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

रात भरी डढेलो फैलिँदै जाने हो भने मेरिङदेन जङ्गलको आसपासमा रहेका बस्तीहरूमा उच्च जोखिम रहेको बताइएको छ ।