इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लाबारी पुगेर ठट्यौली शैलीमा प्रस्तुत भएका छन् । सन्थाल जाती एकीकृत बस्तीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री रमाइलो रूपमा प्रस्तुत भए ।

सम्बोधनको सुरुमै सहरी विकास मन्त्रीको परिचय गराएका उनले मञ्चमा आसीन सम्पूर्ण अतिथिको नाम नै उल्लेख गरे । पद सहित नाम भन्ने क्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रीको मन्त्रालय र नाममै अड्किएर पर्यटन मन्त्री भने ।

मुख्यमन्त्री शेरधन राईको नाम उल्लेख गर्न बिर्सिए पछि उनले ए मुख्यमन्त्री त छुट्नुभएछ भन्दै पुनः सच्याए । १५ मिनेटको सम्बोधनमा पुरै ठट्टा मात्र गरेका प्रधानमन्त्री ओलीले सन्थाल जातिलाई १ लाख बराबरको बाजा किन्दिने प्रतिबद्धता जनाए ।

अब बन्ने नयाँ घरमा बजा बझाउँदै रमाइलो गर्नुहोला ।, उनले भने, सन्थाल जस्तो सोझो जाती अर्को हुँदैन । यो जाती सँग सङ्गत गर्न निकै रमाइलो हुन्छ । बाल्यकालको स्मरण गर्दै माछा मारेको कथा सुनाए ।

सन्थाल जाति सँग निक्कै नजिकको सम्बन्ध रहेको बताएका उनले सन्थाल भाषा सिके पनि अहिले आउँदैन भन्दै उनी पन्छिए । त्यति मात्र हैन युवा हुँदा जाड खाको कुरा नभन्ने भन्दै ठट्यौली गरे । अहिले युवाहरूले आइलभयू भनेर हौसला दिएको भन्दै हँसाउन खोजे ।

कार्यक्रममा १०३ वर्षका वीर बहादुर पौडेल लाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य राखेका सन्थाल जातिका प्रतिनिधि बुद्धिलाल सुरेन (सतार) कविता सुनाउँदै मन्तव्य सुरु गरे । आफूहरूले धेरै दिन देखिको दुःखको आशु आज पुछिएको उनले बताए ।

राज्यको हरेक स्थानमा सन्थाल जातीको प्रतिनिधित्व हुनेमा बिश्बास व्यक्त गरे । उर्लाबारी नगरपालिका ८ मा ४ बिघा १३ कट्ठा जग्गामा १८ करोडको लगानीमा सार्वजनिक शौचालय र सामुदायिक भवन सहितका १३२ घर निर्माण हुने भएका छन् । एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत नमुना बस्ती बन्न लागेको हो ।