धरान : मदिराको नशामा हातमा दल्ने स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-४ घर भई विराटनगर महानगरपालिका-१७ स्थित रघुपति जुट मिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् ।

कीटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर पिएर उनीहरू सिकिस्त भएका थिए । सिकिस्त भएका गिरी र मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ ।

मदिराको नशामा रहेकी गिरीले शनिवार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् ।
मण्डलले पनि शनिवार राति १० बजेतिर स्यानिटाइजर पिएको खुलेको प्रहरीले जनाएको छ ।

कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ ।

स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।