इटहरी : प्रदेश १ को राजधानी विराटनगर बजार क्षेत्रका ६ वटा चोकमा अग्ला मूर्ति ठड्याइएको छ ।

विभिन्न नाम दिइएका मूर्तिहरूको कारण दुर्घटनाको जोखिम बढ्दो छ । सडकको ठुलो क्षेत्र मूर्तिको पृष्ठभूमिले ओगटने भएकोले सवारी घुमाउँदा दुर्घटना हुने गरेको हो ।

विराटनगर मात्र हैन मुख्य सहरहरूमा पहिचानको रूपमा पनि चोकमा मूर्ति राख्ने प्रचलन बढ्दै गएको छ । स्थानीय तहले ठुलो रकम खर्च गरेर मूर्ति बनाउने र सडकको क्षेत्र ओगट्ने काममा खर्च गर्ने गरेका छन् ।

इटहरी, धरान, दमक, बिर्तामोड लगायत पहाडी जिल्लाहरूमा पनि यस्ता कंङ्क्रीटका मूर्ति ठड्याउने काम भइरहेको छ । जसको परिणाम स्वरूप साना देखी ठुला सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जीव शर्मा यस्ता भौतिक संरचनाको कारण ट्राफिक व्यवस्थापनमा समस्या बढेको बताउँछन् । आफूहरूले बारम्बार यस विषयमा सचेत गराउँदा समेत सुनुवाइ नभएको उनको भनाई छ ।

पछिल्लो समय सवारी चाप बढ्न थालेकाले एकातिर बाट आएको सवारी अर्कोतिर नदेखिने हुँदा दुर्घटना हुने गरेको उनले बताए । चोकमा मूर्ति बनाउँदा सवारी सिधै बाइपास हुन नपाउने भएकोले सडक जाम हुने गरेको उनको बुझाई छ ।

त्यस्तै रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्री प्रसाद शर्मा पनि सडक बिचमा निमार्ण गरिएका संरचनाको कारण तनाव बढेको बताउँछन् ।

विस्तारित सडकको बिचमा सीमा गेट र चोकको संरचना रहेकोले सडकको चौडाइ घटेको र सडक बिस्तारमा समस्या आएको उनको भनाई छ ।

राजमार्ग छेकिने गरी चोकमा अनावश्यक घुमाउरोपन सृजना हुँदा सवारीसाधन दुर्घटना निम्तिने र सडकमा थप दबाब पर्ने गरी सडक छिटो बिग्रिने गरेको उनले बताए । कुनै प्राविधिक सहकार्य बिना बनेका यस्ता संरचनाले दीर्घकालीन रूपमै समस्या निम्त्याइरहेको छ ।

कानुन विपरीत निमार्ण गरिएका संरचनाले सहरको सौन्दर्यमा पनि असर पारिरहेको छ । सडक ऐन २०३१ को दफा ३ को उपदफा १ मा सडकको क्षेत्रभित्र कुनै किसिमको स्थायी संरचना वा भवन निमार्ण गर्न नपाइने उल्लेख छ ।

उपदफा २ त्यस्ता संरचना निमार्ण गरिए सडक विभागले त्यस्ता संरचना भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाटै भराउन सक्ने व्यवस्था गरिएको छ ।

Brt