धरान : धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज (बुधबार) २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार रुपैयाँ सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताए । उनले उक्त कोषमा १ लाख रुपैयाँ पुर्याउने लक्ष्य आज पुरा भएको जानकारी दिए ।

‘हाम्रा अग्रज पत्रकार, नेपाल पत्रकार महासङ्घ सुनसरीको पूर्व अध्यक्ष याम प्रधान, उहाँ चाहिँ नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिबाट पनि प्रेस स्वतन्त्रता सेनानी भन्ने सम्मान पाइसक्नु भएको र नेपाल पत्रकार महासङ्घ सुनसरीको पनि पूर्व अध्यक्ष भइसक्नु भएको, उहाँको सम्मानमा हामीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष राख्ने अभियान फोनिजले, त्यसको लागि मेयरसाबसंग कुराकानी गरेका थियौँ, आदिवासी पत्रकारहरूको अहिलेसम्म कोष पनि छैन, हाम्रो सोच यस्तो छ भनेपछि उहाँले आदिवासी जनजाति पत्रकारहरूलाई सहयोग पुग्नेगरि र आदिवासी पत्रकारहरूको श्रीवृद्धिको लागि २५ हजार रुपैयाँ दिनुभयो ।’ उनले भने ।