धरान : पत्रकार विनोद विश्वकर्माको नेतृत्वमा चलचित्र पत्रकार सङ्घ नेपालको सुनसरी शाखा घोषणा गरिएको छ ।

शाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः मनोज दाहाल, सुमन भट्टराई, सरुपा थापामगर र सविना बान्तवा रहेका छन् ।

सदस्यहरूमा नरेन कुलुङ, रविन राउत, आरबी कटवाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रिया राई रहेका छन् ।

जिल्लामा सञ्चालित पत्रिका, टेलिभिजन, रेडियो, अनलाइनआबद्ध मनोरञ्जन बिटमा कलम चलाउने पत्रकार, कार्यक्रम प्रस्तोता, फोटो पत्रकार आदि चलचित्र पत्रकार सङ्घको ब्यानरमा सङ्गठित भएका हुन् ।

सुनसरीमा सङ्घको शाखा विस्तार भएको जानकारी दिन बुधबार दिउँसो इटहरीस्थित इलाइट सिनेमा हल परिसरमा घोषणासभा आयोजना गरिएको थियो ।

चलचित्र विकास बोर्ड नेपालका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्घका प्रदेश १ अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासङ्घका प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, सङ्गीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, वरिष्ठ सङ्गीतकार गुरुदेव कामत, अग्रज पत्रकार कृष्ण अधिकारी, निर्माता तथा निर्देशकद्वय भिम लामा, प्रकाश सुब्बालगायतले शुभकामना व्यक्त गरेका थिए ।

मनोरञ्जन क्षेत्रमा कार्यरत पत्रकारहरू सङ्गठित हुनुले पूर्वमा सिनेमा, सङ्गीत, कलासहित मनोरञ्जन क्षेत्रमा थप उत्साह सञ्चार भएको वक्ताहरूले बताएका थिए ।