विराटनगर : १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । 

कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्याबमा कार्यरत कर्मचारीहरूलाई सम्मानित गरिने बताए । 

सामाजिक विकास मन्त्रालय र सामाजिक सङ्घरसंस्थाहरूको आयोजनामा दिवस मनाइने उनले बताए । उनका अनुसार फागुन २४ गते बिहान जिल्ला प्रशासन प्राङ्गणबाट बिहान ७ बजे सुरु हुने र्‍याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ ।

साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरी कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताए । 

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते मनाईदैछ ।