धरान : धरानको चारकोशे झाडीमा पूर्ण रूपमा सडिसकेको कङ्काल मात्रै भएको अवस्थामा शव फेला परेको छ ।

शव सडेर कङ्काल मात्रै फेला परेको सो शव महिला वा पुरुष भन्ने छुट्टाउन नसकिएको भए पनि लगाएको कपडाका आधारमा पुरुष हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

उनका अनुसार शुक्रबार बिहान वन हेरालुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उमेर पनि छुटाउन गाह्रो भएको बस्नेतको भनाई छ ।

डिएसपी बस्नेतका अनुसार मृतकको शरीरका भागहरू केही पनि छैनन् । शवको वरिपरि किरा लागेको तथा झिँगा भन्किएको अवस्थामा थियो । शव देखि ५० मिटर नजिक शरीरका भागहरू लगेर जनावरले खाएको जस्तो घटना स्थलमा देखिन्छ ।

खबर पाएसँगै घटना स्थल पुगेको प्रहरी टोलीले उक्त स्थानमा मुचुल्का उठाएर शव पोस्टमार्टमको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

मृतकको पहिचानका लागि मृतकको डिएनए परीक्षण गरिन्छ, मृतकको उमेर पनि रिपोर्टमा आउँछ । हड्डीमा चोट लागेको छ वा छैन पनि पोस्टमार्टम गरिन्छ । पोस्टमार्टमको रिपोर्टको प्रोफाइल अनुसार मात्र थप अनुसन्धान गर्न सकिने प्रहरीको भनाई छ ।

शव ३ महिना मर्चरीमा राखिन्छ । तर, पहिचान नखुलेमा बेवारिसे शव अन्तर्गत शव व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।