धरान : धरान उपमहानगरपालिकाको आठौँ नगर सभा विभिन्न निर्णय गर्दै शुक्रवार सम्पन्न भएको छ ।

फागुन १० उद्घाटन भएर स्थगित भएको नगर सभा शुक्रवार फेरि भएको थियो । जसमा २ वटा नयाँ विधेयक पारित भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा भएको सभामा प्रस्तुत भएको सङ्घसंस्था दर्ता सम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको हो ।

यसै गरी स्थानीय निकायका कर्मचारीहरूको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको छ । जस अनुसार यो संशोधन कार्यान्वयन हुँदा कार्य अवधि ५ वर्ष पुरा भएका र योग्यता भएकाहरूलाई एक तह बढुवा हुनेछन् ।

यस्तै, सार्वजनिक लेखा समितिको अर्ध वार्षिक प्रतिवेदनलाई पनि सभाले अनुमोदन गरेको छ ।

यसै गरी भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको लगत सङ्कलनको म्याद थप गर्न भूमि आयोगलाई पत्राचार गरिने भएको छ ।