इटहरी : सुनसरी र मोरङको सिमानामा रहेको बुढी खोलामा दोस्रो मुक्तिघाट बन्ने भएको छ । लामो समयदेखि रोकिएको निर्माण कार्य उच्च अदालतको आदेश पछि मोरङ तर्फ मुक्तिघाट बन्ने भएको हो ।

बुढी खोलाको पूर्वपट्टि घाट निर्माण हुने भएपछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका बिच विवाद बढेको थियो । सोही क्रममा वातावरण र पुललाई असर गर्ने कारण देखाउँदै कानूनविद् समन चन्द्र कार्की समेतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । सोही निवेदनको सुनुवाइ गर्दै उच्च अदालतबाट अर्को आदेश नभए सम्म निर्माण कार्य रोक्का गर्न अन्तरिम आदेश भएको थियो ।

तथापि २०७७ माघ १९ गतेको निर्णय र फाल्गुन ७ को आदेशले जनसरोकारको विषय भएकोले गुरुयोजना बनाई पुललाई क्षति नहुनेगरि वातावरणीय प्रभावलाई ध्यानमा राखी सम्बन्धित निकायहरूसँग समन्वय गरी निर्माण कार्य सञ्चालन गर्न आदेश गरेको छ । सोही आदेशले सुन्दरहरैचा नगरपालिका तर्फ पनि बुढीगंगा मुक्तिघाट बन्ने भएको हो ।

सुन्दरहरैचा नगरपालिकाको तेस्रो नगर सभाको निर्णयअनुसार घाट निर्माणका लागी बजेट विनियोजन गरेको थियो । सोही निर्णय अनुसार २०७६ ज्येष्ठ १३ गते बृहत्तर मुक्ति धाम क्षेत्र विकास समितिका अध्यक्ष हेम प्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरेको हो ।

उपभोक्ता समिति गठन भएपछि पहिलो चरणमा १९० मिटर उत्तर दक्षिणको खाल्टोमा तारको जाली लगाई ढुङ्गा भर्ने काम सुरु भएको छ । त्यससँगै २ मिटर चौडा सय मिटर लामो आर सि सि। ढलान समेत सम्पन्न भइसकेको छ ।

Sundar-haraicha-puran

अदालतको आदेशपछि निर्माण कार्य अगाडि बढाउन भनेपछि राम नवमीको दिन पारि २०७७ साल चैत्र ८ गते देखि १४ गते देखी सप्ताह पुराण लगाएर पुनः काम सुचारु गर्न लागिएको हो । प्राविधिकको इष्टिमेट अनुसार पूर्व खण्ड निर्माणमा अनुमानित २ करोड ५० लाख लगानी हुने भएको छ ।

निर्माणाधीन घाटमा पत्रकार सम्मेलन गर्दै सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकालले विद्युतीय शवदाह केन्द्र बनाउने बताए । पूर्वकै पर्यटकीय र आकर्षक घाट बनाउन नगरपालिका लागि परेको उनको भनाइ छ ।