धरान : मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादीलाई रुपन्देहीको बुटवलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले रणपहेलीलाई शुक्रवार साँझ बुटवलबाट पक्राउ गरी विराटनगर ल्याइँदै गरेको जानकारी दिएका छन् ।

रणपहेलीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने र पौडेलको लागूऔषधको मुद्दा टुङ्गिएपछि विराटनगर ल्याएर अदालतमा उपस्थित गराउने तयारी रहेको बताइएको छ ।

उक्त घटनाका ६ जना प्रतिवादीमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमारमध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा मोरङ कारागार पठाइसकिएको छ भने कुमार राईलाई ३ लाख धरौटीमा र गिरीलाई १ लाख धरौटीमा छाडेको छ ।

उक्त घटनामा सत्य तथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै परिवार विरोधमा उत्रेपछि प्रहरीले फागुन ११ गते ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा लापरबाही गरेको आरोप लागेका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेका पोखरेलको ठाउँमा जिल्लाबाट कुन्दन देवलाई पठाइएको छ ।

रहस्यमयरुपमा मृत्यु भएका प्रवीणको मिसिलमा फोटो अर्कैको राखेर आरोपीहरूको बचाउ गरेको भन्दै मृतकका बाहिनीलगायत आफन्तजनहरूले आन्दोलन चर्काएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयले डिएसपी मानवबहादुर राईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धानको मिसिलमा फोटो अर्कै व्यक्तिको राखेको र त्यो मानवीय त्रुटि भएको जनाएको थियो ।