धरान : नेवार एकता समाज धरानले शुक्रवार ८ औ स्थापना दिवस मनाएको छ । धरानको सिद्धि नेवा: परिषद्मामा भएको कार्यक्रममा नेवार समुदाय भित्र अन्तरजातीय विवाह गरिसकेका ४६ जोेडीहरुलाई परिचयात्मक कार्यक्रम समेत राखेको थियो ।

कानुनतः अन्तरजातीय विवाहलाई मान्यता दिए पनि समाजले व्यावहारिक रूपमा हालसम्म स्वीकार गरेको अवस्था छैन । तर, आधुनिकता सँगै समाजलेले पनि नेवार जातीका केटाकेटीहरूले जुनसुकै जातका व्यक्ति सँग विवाह गर्न दिने जनाएको छ भने अन्तरजातीय विवाह गर्ने जोडीलाई स्वीकृति पनि दिने बताएको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष विशाल श्रेष्ठले विवाह दुई वटा सांस्कृतिक समूहबिचको मिलन भएको बताउँदै उनले विवाह जुनसुकै जनजातीय समूहबिच भए पनि खुसी हुनुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि धरान काठमाडौँ सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले नेवार एकता समाजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गरे । उनले धरान-काठमाडौँ सरोकार समाजले पुरानो अस्पताल निर्माण गर्ने योजना रहेको बताए ।

त्यस्तै नेवार एकता समाजले गत पुसमा सम्पन्न रक्तदान कार्यक्रममा सहयोग गर्ने १६ वटा संस्थालाई प्रशंसा-पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा नेवार एकता महिला समाज धरानकी अध्यक्ष शिला बज्राचार्यको जन्म दिन परेकाले केक काटेर जन्मदिन पनि मनाइएको थियो ।