इटहरी : आयोजक हाम्रो इटहरी भेट्रान क्लबलाई पराजित गर्दै बिराटचौक भेट्रान क्लबले एक  नम्बर प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरी-५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक हाम्रो इटहरी भेट्रान क्लबलाई ३-१ को गोल अन्तरले पराजित गर्दै बिराटचौकले उपाधि जितेको हो।

विजेता बिराटचौक भेट्रानले नगद ५१ हजार सहित शिल्ड पाएको छ भने उपविजेता आयोजक इटहरी भेट्रानले ३१ हजारमा चित्त बुझाएको छ ।

विजेता टिमको तर्फबाट श्याम तामाङ र रमेश गुरुङले एक एक गोल गरे भने अर्को एक गोल आत्मघाती गोल उपहार पाएको थियो । पराजित आयोजकका तर्फबाट लिलाराम थापा मगरले १ गोल गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटचौक भेट्रानका प्रवेश कटुवाल घोषित भए । उनले नगद ५ हजार १ सय र ट्रफी पाए । प्रतियोगिताको म्यान अफ द फाइनल बिराटचौक भेट्रानका श्याम कुमार तामाङ र रमेश गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए ।

वेस्ट गोलकिपर आयोजकका रूपक गुरुङ, डिफेन्स सन्तोष बस्नेत, मिडफिल्डर निर्मल तामाङ र हाइस्कोरर लिलाराम मगर घोषित भए । उनीहरू सबैले जनही २ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।

विजेता तथा उपविजेता टिमलाई इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेल, एन्फा केन्द्रीय सदस्य दीपक राई, सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार वितरण गरे ।

फागुन १३ गते देखी सुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहेको थियो ।