धरान : धरान १७ शान्ति टोल स्थित खहरे खोलामा बनेको नवनिर्मित पुलको उद्घाटन भएको छ ।

मेयर तिलक राईले आज नवनिर्मित पुलको उद्घाटन गरेका हुन् । मेयर राईले केही समय अघिसम्म यो ठाउँलाई फरक ढङ्गले हेरिएको बताउँदै भौतिक निर्माणले यो ठाउँको स्वरूप नै परिवर्तन भएको बताए ।

मेयर राईले भने, ‘अलिकति समस्या जस्तो देखिने, खोल्सा त खोल्सै हो, अलिक अप्ठ्यारो देखिने तर, अहिले यो भौतिक निर्माणले शान्ति टोलको स्वरूप परिवर्तन भएको महसुस गरेको छु ।’

जनप्रतिनिधिहरुले दिएको पैसाको सदुपयोग भयो र त्यसले गुणात्मक रूपमा विकास भयो भने जनप्रतिनिधिहरूलाई अत्यन्तै सुख हुने उनले बताए । उनले उपभोक्ता समितिले उत्साहजनक काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । एकतिर निर्माण गर्दा अर्कोतिर विनाश नगर्न पनि मेयर राईले आग्रह गरे ।

मेयर राईले धरान १७ भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्नुपर्ने एक नम्बर वडामा पर्ने पनि बताए । भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न उपमहानगरको कार्यपालिकाको बोर्ड बैठकबाट नगर प्रमुखको संयोजकत्वमा समिति बनेको बताए । वडाध्यक्षको नेतृत्वमा वडामा पनि सहजीकरण समिति बन्ने मेयर राईले बताए ।

शान्ति टोल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य तामाङले उ उक्त पुल नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ र उपभोक्ता समितिको १ लाख ८८ हजार ६८ रुपैयाँ बजेटमा निर्माण गरिएको जानकारी दिए ।

उनले भने ‘यहाँ पुल नहुँदा मानिसलाई आवतजावत गर्न समस्या थियो, खहरे खोलाले बगाएर अहिलेसम्म तिन जनाको मृत्यु भइसकेको छ ।’ पुल निर्माण भएपछि शान्ति टोलका मात्र नभई लोसे, नमस्ते चौक र उदय टोलका बासिन्दालाई आवतजावत गर्न सहज भएको उनले बताए ।

सोही वडाका वडाध्यक्ष मनोज भट्टराईले शान्ति टोल आफैमा क्रियाशील टोल रहेको बताए । हरेक टोलहरूले शान्ति टोलबाट सिक्न जरुरी रहेको बताउँदै उनले एकताबद्ध भएर काम गर्न आग्रह गरे ।