धरान : कोरोना विरुद्धको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान आजबाट सुरु हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान सुरु गरिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे शिक्षण अस्पतालमा खोप लगाउदैछन् ।

दोस्रो प्राथमिकतामा रहेका ५५ वर्ष उमेर माथिका साथै विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई खोप लगाइने छ । यस्तै सार्वजनिक सवारीसाधनका चालक र सहचालकलाई पनि प्राथमिकतामा राखिएको छ ।

कोरोना विरुद्धको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान देशभर ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुदैछ ।

आजै भारतबाट ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याउन लागिएको हो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आज नेपाल आइपुग्नेछ ।