मोरङ : पूर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा विपरीत दिशामा आइरहेको हायस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प.३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख.६९६ नम्बरको हायस मध्यराती १२ बजेर ४० मिनेटमा एकापसमा जुधेको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलबारी ११ का २१ वर्षीय अर्जुन न्यौपाने र पछाडि सवार २१ वर्षीय मनोज कटवालको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । दुवैको उपचारको क्रममा राती १ बजेर ५० मिनेटमा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका हायस चालक काठमाण्डौका २८ वर्षीय गणेश थापा, सहचालक बेलबारी निवासी १८ वर्षीय उत्सव गरी दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बिराटचौकको नियन्त्रणमा रहेको छ ।

दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीको भनाई छ । साथै, हायस चालकको सवारी चालक अनुमति पत्र रहेको तर मोटरसाइकल चालकको भने साथमा नभेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।