झापा : झापाको बिर्तामोडमा आजबाट जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ आजबाट सुरु भएको हो ।

बिर्तामोड ब्याडमिन्टन क्लबको हलमा लायन्सका एलसी आई एफ डिस्ट्रिक्ट कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग, रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन सत्यनारायण शर्माले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे ।

फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चिमरियाले लायन्स क्लब अनारमनीले आयोजना गरेको प्रतियोगिता जिल्ला स्तरीय भएपनि आगामी दिनमा लायन्सको क्यालेन्डरमा समावेश गर्दै प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा प्रतियोगिता गराउन सकिने बताए ।

प्रतियोगितामा यस वर्ष खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लब अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दीपक पोखरेलले जानकारी दिए।

प्रतियोगिता उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि चियरिया सहित  बिर्तामोड उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बलराम कार्की, लायन्सका रिजन चेयर पर्सन ओमकृष्ण विमली, लायन्स क्लब अफ अनारमनीका सदस्य राम अवतार घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका झापा अध्यक्ष मदन गोपाल सुब्बा, बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव भेषराज भण्डारी‘ प्रशान्त’ रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, जेसीज पूर्व अध्यक्ष समाजका पूर्व अध्यक्ष विनोद बस्नेत,निर्माण व्यवसायी केदार गिरी, बिर्तामोड ब्याडमिन्टन क्लबका हल सञ्चालक रमेश प्रसाईँ, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।