धरान : धरान-१७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिए । आगलागीका कारण अहिलेसम्म केही खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

बस्नेतका अनुसार चेन गेट, अफिस पनि बन्द रहेको अवस्थामा आगलागी हुनु शङ्कास्पद रहेको बताए । स्कुलमा रहेको भरयाङ प्रयोग गरेको र घटना स्थलमा आगलागी गराउन प्रयोग गरिएको मट्टितेल बोतल र बोतलको बिर्को पनि भेटिएकाले कसैले आगलागी गराएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रधानाध्यापक बस्ने अफिसका झ्यालका सिसा पड्किएको आवाज आएपछि स्थानीयवासीले स्कुलमा आगलागी भएको थाहा पाएको प्रअ खत्रीले बताए । प्रधानाध्यापकको घर विद्यालय देखी नजिकै रहेको छ ।
२०५४ सालदेखि हालसम्म रहेका सबै अभिलेख, माइन्युट बुक, चेक, फर्निचर लगायत सबै जलेर खरानी भएको छन् ।

यस्तै, अफिस कोठामा रहेको दुई थान ल्यापटप, तीन थान प्रिन्टर, सहायक भक्तविलाश पोखरेलले दराजमा राखेको ८२ हजार रुपैयाँ, प्रधानाध्यापक खत्रीले दराजमा राखेको २२ हजार रुपैयाँ जलेर नष्ट भएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको दमकल प्रहरी र स्थानीयहरूले पुगेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट १६ लाख ५९ हजार अनुमानित क्षति भएको देखिए पनि पुर्ण विवरण आईनसकेको प्रअ खत्रीले बताएका छन् ।