विराटनगर : १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले कोभिड-१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रूपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्नेलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनीहरुलाई सम्मानित गरेका थिए ।

१३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरूले व्यापकता भन्दा गहिराई मा जानुपर्नेमा जोड दिए । उनले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिकमतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ट रहेको बताउनुभयो । महिला नेतृत्व सफलताको घोतक भएको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक सङ्घ संस्थाहरूको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए ।