इटहरी : जनता माध्यमिक विद्यालयको जग्गामा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय नबनाउन विद्यार्थी सङ्गठनले चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घ र नेकपा एमाले सम्बद्ध अनेरास्वबियुले विज्ञप्ति जारी गर्दै निमार्ण कार्य अगाडी नबढाउन भनेका हुन।

जनता माविको जग्गा अतिक्रमण गर्ने व्यापारीक प्रयोजनमा प्रयोग गर्ने देखी व्यक्तीगत लाभ लिने कामको बिरोध स्वरुप विज्ञप्ति जारी गरीएको उल्लेख छ । हाल इटहरी-४ मा रहेको जनता माविको जग्गामा बिद्यार्थीको खेलमैदान भएको तर श्वास्थ्य चौकी बनाउने र वडा कार्यालय बनाउने नाममा जग्गा मास्न खोजीएको विद्यार्थी सङ्गठनको आरोप छ ।

नेबिसंघ सुनसरी जिल्ला सभापति मन्दीप भट्टराई र अनेरास्वबियु सुनसरी अध्यक्ष रोशन रेग्मीद्वारा जारी विज्ञप्तिमा अदालतको नजिर र शिक्षा नियमावली विपरीत विद्यालयको प्रयोजन भन्दा बाहेक जग्गा उपयोग गर्न नपाइने बताइएको छ ।

विद्यार्थीको संवेगात्मक विकासमा उपयोग हुनुपर्ने सम्पत्ति अन्य प्रयोजनमा उपयोग गरिए जस्तोसुकै कदम पनि उठाउन सक्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ । त्यसबाट उत्पन्न परिस्थितिको स्वयम् विद्यालय प्रशासन जबाफदेही हुनुपर्ने उनीहरूको भनाई छ ।

यस अघि पनि ४ नम्बर वडा कार्यालय भवन निर्माण तथा अध्ययन समितिले सो स्थानमा कार्यालय नबनाउन चेतावनी दिएको थियो । वडा नम्बर ४ को पायक पर्ने स्थानमा नभएको र विद्यालयको जग्गा भएकोले वडा कार्यालय नबनाउन समितिले ध्यानाकर्षण गराएको हो ।

तर मेयर द्वारिकलाल चौधरीले भने भवनको शिलन्यास गरिसकेका छन् भने भवन निमार्णको ठेक्का समेत लागिसकेको छ ।

janata student press