किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको  वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए ।

भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भूभागहरूमा नै पनि किरातहरूको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ । तर, आजभोलि किराँती महाजातिभित्रका खम्बुका सन्तानहरू धेरै जसो नेपालका अन्य जात वा जातिहरूमाझ ‘राई !’ भनी चिनिन थालेका छन्, लाग्छ उनीहरू आफ्नो असली जातीय स्वपहिचान बुझेर भन्दा पनि भीडको राजनीति गर्न आफुहरु ‘राई !’ भएका छन्, अरूलाई पनि जस्तै उदाहरणका लागि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रूपमा आएका कुलुङ जातिलाई पनि कथित ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गरी रहेका छन् । तर, जो ‘राई !’ विगतमा जात वा जाति नभएर पदवी वा पगरी नै भएको भए तापनि अबका दिनमा हामी त्यही ‘राई !’ पदवी वा पगरीलाई जात  वा जाति मान्छौँ, अरूलाई जबरजस्ती ‘राई !’ नै बन भन्दैनौ !, उनीहरू पनि ‘राई !’ नै हो, किनभने उनीहरूको तीन पुस्ते, जग्गा-धनी पुर्जा, नागरिकता, स्कूल/कलेज पढेको सर्टिफिकेट, पेन्सन-पट्टा, विद्यार्थी परिचयपत्र, पासपोर्ट आदिमा समेत ‘राई !’ छ नभनुन् भन्ने हो ।

हुन पनि 'राई !' के हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने बुद्धिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्रा.डा, ...विद, ...विज्ञ, ... आदि समेत प्रस्ट छैनन्, उनीहरू समेत ‘राई !’ शब्दले नेपालका जात वा जाति जनाउँथ्यो कि, पदवी वा पगरी मात्रै ?’ भन्ने बारेमा स्पष्ट छैनन्, बुझेका छैनन् । खासमा ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले त्यो वेला कर्णालीतिर ‘राजा’ अर्थ लाग्थ्यो। त्यस्तै ‘राई !’ पदवी वा पगरी बढीमा सेनकालदेखि मात्रै प्रचलनमा आएको भन्ने भनाइ रहेको छ। पूर्वका किरातीहरुलाई, खास गरी केही मुख्खेली व्यक्तिहरूलाई सेन राजा वा भनौँ शासकहरूले ‘राय’/‘राई !’ दिइएको पदवी वा पगरी हो। उदाहरणका लागि हाल ‘प्रधानमन्त्री’ केपी शर्मा ओली वा उपप्रधानमन्त्री ईश्वर पोखरेल भने जस्तै।

बढीमा सेन वा शाह-राणाहरूको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरुले मात्रै आफ्नो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भूपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’/‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै रैती दुनियाँले आफ्नो नामको पछाडि लेख्न पाएका थिए, त्यो पनि भूमिसुधार ऐन-२०२१ गाउँ गाउँ, टोलटोलमा व्यापक रूपमा लागू भएपछि ।

हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, हुक्के, बडा गुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरू पनि प्रशस्तै थिए । 
तर, ‘राई !’ पदवी वा पगरी बाहेक उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, हुक्के, बडा गुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका ती मानिसका सन्तान दरसन्तानहरुले चाहिँ किन आफ्नो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, हुक्के, बडा गुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् ? 

त्यस्तै ‘सबै जातको फुलाबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखे अनुसार ‘...तिरो उठाउँदा जग्गाको नाप अनुसार नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज फुलाबारी हुँदा धेरै जसो ‘राई !’ हरु नै खुशी .... ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘... राई ... द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । ...’, ‘द राई ... किपट ओनर/ओवनर...’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नाभनी  स्टिक अफ ग्रुप मेम्बरशीप ..., लेखिएको छ ।

सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रश्नोत्तर-उत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले ‘भाइ, तपाईले साह्रै राम्रो प्रश्न उठाउनु भयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनी बबाल गरेका थिए अरे ! 
कुलुङ जातिका अगुवाहरुले विसं २०५७/०५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन्, त्यसैले कुलुङ-कुलुङबीचमै एक आपसमा विहेवारी चल्ने गरेको छ भने, विसं २०६८ को ११ औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्याङ्क अलग्गै जातिका रूपमा आई सकेको छ ।

कुलुङ जातिको जनसङ्ख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता सङ्ख्या ३३ हजार १७० जना रहेको छ । सोही आधारमा नै केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड-६२ र भाषागत कोड-२९ उपलब्ध गराएको छ ।