धरान : धरानमा हुन लागेको अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक महोत्सव-२०७७ को सम्पूर्ण तयारी पुरा भएको छ ।

फागुन २८ र २९ गते धरान १३ मा हुन गइरहेको महोत्सवको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतका ३५ र नेपालका १ सय २५ जना गरी १ सय ६० कवि तथा साहित्यकारहरूको सहभागिता हुने जानकारी दिइएको छ ।

'भौतिक विकास मात्र मानव समुदायको विकासको मानक होइन, चेतनाको विकास महत्त्वपूर्ण हुन्छ । कला र चेतनालेनै मानव सभ्यतालाई उन्नत बनाउँछ ।' भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको सो महोत्सवमा प्रा.डा. भीम खतिवडा र भारतबाट आउने २ जना साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्ने महोत्सवका संयोजक बम देवानले पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन २८ र २९ गते धरान व्यांक्यौटमा महोत्सवको आयोजना हुने छ ।

फागुन २८ गते उद्घाटनको दिन महोत्सवमा विभिन्न जातीय संस्कृति झल्कने झाकी प्रदर्शन गरी पाहुनाहरूलाई छाताचौकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले स्वागत गर्दै सांस्कृतिक झाकी सहितको र्‍याली कार्यक्रम स्थल सम्म गरिने धरान १३ का वडाध्यक्ष तथा महोत्सवका संरक्षक नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।

महोत्सवमा आगन्तुक साहित्यकारहरूलाई धरानका पर्यटकीय क्षेत्रहरूको अवलोकन गराएर साहित्यको माध्यमबाट धरानको प्रचार-प्रसारलाई थप प्रभावकारी बनाइने पनि काफ्लेले बताए ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति साहित्यकार गङ्गा उप्रेतीको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन हुनेछ भने समापन प्रदेश १ का कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख खर्च हुने पनि आयोजकले जनाएको छ । धरानमा हुन लागेको यो महोत्सव कोरोना महामारी पछिको पहिलो ठुलो र अन्तर्राष्ट्रिय महोत्सव पनि हो ।

Bigyapti