धरान : अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०७७ आज पनि जारी छ ।

हिजो विधिबत उदघाटन भएर जारी रहेको महोत्सवमा देश विदेशका गजलकारहरूले महोत्सवलाई साँझमा गजल महफिलमा तताएका थिए । माया, प्रेम र समसामयिक विषय बस्तुलाई समेटेर प्रस्तुत गरिएको गजलका सेरहरूले उपस्थित दर्शक श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

भारतको आसाम, सिलगुढी, दार्जिलिङ र नेपालका विभिन्न जिल्लाहरूबाट सहभागी भएका गजलकारहरूले आ आफ्नो गजल प्रस्तुत गरेका थिए ।

कोरोना महामारी पछि पहिलो पटक धरानमा आयोजना भएको यो अन्तर्राष्ट्रिय स्तरको महोत्सवले धरानलाई मात्रै होइन प्रदेश १ लाईनै साहित्यमय बनाएको छ ।

देश विदेशका गरी करिब सय भन्दा बढी कवि तथा साहित्यकारहरूको सहभागिता रहेको महोत्सवको आज दोस्रो दिन औपचारिकरुपमा समापन गरिने १३ नम्बर वडाका अध्यक्ष तथा महोत्सवका संरक्षक नेत्रप्रसाद काफ्लेले बताए ।

आज दिउसो १० बजे देखि सुरु भएर साँझ पोखराका गजलकार प्रकट पङ्गेनी शिव लगायतका गजलकारहरूले गजल महफिलमा गजल प्रस्तुत गर्ने अध्यक्ष काफ्लेले बताए ।

धरान १३ को बेङक्वेटमा भइरहेको सो कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञ प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले गरेका थिए । साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को आयोजनामा भइरहेको सो कार्यक्रममा नेपालको तर्फबाट डा। भीम खतिवडा र भारतबाट नरबहादुर दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

“भौतिक विकास मात्र मानव समुदायको विकासको मानक होइन, चेतनाको विकास महत्त्वपूर्ण हुन्छ । कला र चेतनालेनै मानव सभ्यतालाई उन्नत बनाउँछ ।” भन्ने मूल नाराका साथ सुरु भएको सो कार्यक्रममा सहभागीहरूलाई भोलि धरान आसपासका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गराइने आयोजकले बताएको छ ।