धरान : धरानमा पछिल्लो समय दिनहुँ जस्तो खुकुरी हानाहान हुन थालेको छ ।

बिहीबार धरान-८ दुर्गा पथमा तिलबहादुर माझीले आफ्नै श्रीमती सम्झना भनिने कमला माझीको घरायसी विवादमा खुकुरी प्रहार गर्दा मृत्यु भएको छ ।

साँझ ५ बजे घटेको सो घटना लगत्तै धरान ८ मै अर्को घटना घट्यो । धरान-११ बस्ने १९ वर्षीय समीर खालिङ राईलाई धरान-८ का दोर्जे भनिने निशान मोक्तानले छुरा प्रहार गरे ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका राईको पेटमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका राईको अप्रेसन पछि अहिले बीपीको आइसियुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । छुरा प्रहार गर्ने दोर्जे भनिने निशान मोक्तान फरार भएकोले प्रहरीले खाजी कार्य तीव्र बनाएको छ ।

यसै गरी शुक्रवार बिहान साढे नौ बजे तिर धरान-३ स्थित मेरिगोल्ड स्कुल अगाडी खुकुरी हानाहान भएको छ ।
खुकुरी हानाहानबाट धरान-८ बस्ने २१ वर्षीय सनम परियारको बायाँ हात र टाउकोमा काटिएको छ ।

एउटा स्कुटरमा आएका तीन जनाको समूहले सनमलाई खुकुरी प्रहार गरेर घाइते सनम रागत्तम्मे भाग्दै गरेको र तीन जना पनि खुकुरीसँगै स्कुटरमा चढेर भाग्दै गरेको मेरिगोल्ड स्कुलको सिसी टिभी फुटेजमा देखिएको छ ।

सोही आधारमा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने तीन जना मध्ये एक जना धरान १२ बस्ने १९ वर्षीय राजीव परियारलाई धरान-१५ बाट पक्राउ गरेको छ । दुई जना फरार रहेकोले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

घाइते भएका सनमको बीपीमा उपचार हुन नसकेपछि थप उपचारको लागि सप्तरी लगिएको प्रहरीले जानकारी दिएको छ ।

धरानमा पछिल्लो समय दैनिक जसो युवाहरूमा खुकुरी र छुरा प्रहारका घटना घट्नुको मुख्य कारण युवाहरू बिच लागुऔषध प्रयोग र आपसी विवादका कारण हुने गरेको डिएसपी बस्नेतको भनाई छ ।