आँखाहरुमा करुणाको आकाश उचालेकी आमाको
एउटा आँगन थियो स्नेहका फूलहरू फुलिरहने।
आँगनको जिन्दगीमा एउटा अर्थको बोट थियो
आमाले बताएकी हुन् ।।

मगमग सुगन्ध आङमा बोकेर
वातावरणलाई स्वच्छ बनाइरहने यो बाबरी फूलको बोट ।
बहिनी भाँडाकुट्टी खेल्ने त्यही बाबरीको फेद।

थियो कुन्नि कस्तो आस्था आमालाई बाबरीसित
बहिनीको शरिरमा जब अन्धो घमौरोले
फोकाको ब्रेकमा दर्द लेख्थ्यो
आमाले त्यही बाबरी फूलको मेट्टनले
दलेर मेटिदिन्थिन् शरिरको पन्जाबाट
विफिराका भद्दा अक्षरहरु ती।

बाबरी फूल आँगनमा हाम्रो
मन्दिरमा भगवान जस्तो शोभा हुन्थ्यो।

बाबरी फूलसितै कुम दँजाएर फुल्ने सयपत्री फूलको नेटमा
हरियो गाग्रीभित्र फुल्थ्यो सुनको ठोसा।
मिहिन पत्रदलहरुमा कुँदेर बनाइएको सयपत्रीमा
सँस्कृतिको सुगन्ध मगमग आइरहन्थ्यो।

घाँटी दुख्दा ‌आमाले सयपत्री फूललाई नङ्ग्याएर
यसभित्रको पत्रदलहरु खोलिएर अडिने भाग
लगाउनुहुन्थ्यो निल्न चबाएर मर्‍याङ मर्‍याङ।
साँच्चै दर्द छूमन्तर भएर जाती पनि भइहाल्थ्यो घाँटी।
आमाले आँगनमा रोपेको मखमली, गोदावरी र चितुचाँगेहरु
किन किन साह्रै आफ्नो लाग्थ्यो मादलको घिन्ताङजस्तो।
एकै लाग्थ्यो आमाको पिलासको चोलो र चितुचाँगे फूल।
आमाले दशैंमा पिलासको चोलो लाउँथिन्
आँगनले तिहारमा चितुचाँगे फूलको पिलासे वस्त्र पहिरिन्थ्यो।
आमाले आँगनमा रोपेकी सिल्पा धुपको बोटको छेउमा उभिँदा पनि
दवाईखाना छेउमा उभिएको लाग्दथ्यो।

सिंहे सिणडे लागेको बेलामा सुक्पा धुप
धुपौरोमा झरिलो आगो बालेर घुमाउँथिन् घरभरि आमाले।
नराम्रो नजर र लाग लगानीहरु दुहाई भइहाल्थ्यो त्यति गरेपछि।
आमासित कुनै फर्मासिस्टको डिग्री थिएन
कुनै डाक्टरी पढाई गरेकी होइनन् उनले
तर आमा हामीलाई एउटा डिस्पेन्सरी नै थिइन्
गाँउलाई प्राइमरी हेल्थ सेन्टरजस्तो।
आठआने, चारआने झार, अबिजलहरु पिसेर
कपडछान गरेर दिएपछि निमोनिया हुनबाट
शीतले पात भिज्न नसकेजस्तो अलग्गै जोगिन्थ्यौं हामी।

घर छेउमै टाउको उठाएर हरियो उम्रिरहेको तितेपाती र
लागलगानहरु टाढो सार्थिन् आमा।
कहिँ चोटपटक लागिहाले
ठाडे उनिऊँ माडेर निचोरी लगाइदिएपछि
एकछिन नराम्रो चहर्‍याउने तर घाउ जाती हुने।

मेरी अनपढ आमाले यसरी जोगाउँथिन् हामीलाई
कुखुराको माऊले चल्लाहरुलाई जस्तै
विविध रोग र बिमारीका चिलहरुदेखि।
आँगन वरिपरिका बोझो,पाखनबेत र अम्बकका बोक्राहरुमा
आमा हाम्रो सुस्वस्थता दख्थिन्।

बुझ्छु आजकल म
दबाइभन्दा असरदार त
आमाको विश्वास रहेछ त्यसबेला।
अ‍ेखतीभन्दा पनि बेजोड त
आमाको स्नेहको विशाल परिणामले
सब बिमारीहरुलाई जित्दो रहेछ।

हामीलाई हरेक बिमारीबाट बचाउने आमालाई
तर हामीले मृत्युको मुखदेखि बचाउन सकेनौं।
हामीलाई जीवन आशिर्वादमा दिएर आमा गइन्।
आज हाम्रो घरका आँगनहरु हराएजस्तै
आमा, तिमी पनि हराएकी छौ हाम्रो जीवनबाट त्यसरी नै।।