धरान : धरान-१७ र २० को बिच भई बग्ने सर्दु खोलामा नदीजन्य सामाग्री उत्खनन भइरहेको ठाउँमा पुगेर हर्क साम्पाङको टोलीले रोक्न प्रयास गर्दा झडप भएको छ ।

हर्क साम्पाङ नेतृत्वको टोलीले सर्दु खोलामा भइरहेको नदीजन्य सामान उत्खनन गर्न एक सय जना पुगेका थिए । झडप हुँदा ठेकेदार पक्षका युवाहरूको आक्रमणबाट केही व्यक्ति घाइते भएको बताइएको छ ।

प्रहरीले गीता राई, सोमला राई, मिलन राई, राजेश राई र क्षितिज थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी राजेश राई घाइते भएका छन् । झडपमा परि उनको टाउको फुटेको छ । राजेशले आक्रमण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिनुको साटो घाइतेलाई लिएको आरोप लगाएका छन्।

घटनाको बेला भने हर्क साम्पाङ भने थिएनन् । उनको नेतृत्वमा केही दिनदेखि सर्दु खोला उत्खनन रोक्ने प्रयास भइरहेको थियो । केही दिन अघि पनि उनी सेउती खोलामा पनि अवरोध गर्न जाने क्रममा प्रहरीले रोकेपछि हर्कले महिला प्रहरीलाई नै हातपात गरी दादागिरी देखाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी बताए ।

ठेकेदार पक्षलाई उत्खनन भइरहेको ठाउँमा हर्कको टोलीले आगो लगाइदिन्छु स्काभेटरमा भनेर पहिला हातपात गरेको प्रहरीको भनाई छ । दुवै पक्षबिच हानाहान भएको हो भने ठेकेदार पक्षका कुटपिट गर्ने युवाहरू पनि भागेको प्रहरीले बताएको छ ।

Jhadap

सुनसरी प्रहरी प्रमुख कमल थापाले हर्क साम्पाङ्लाई नियन्त्रणमा लिन खोज्दा भागेर, लुकेर बसेको र गुन्डागर्दी शैलीमा अराजक कार्य गरेको बताए । हर्कले आफ्नो फेसबुकमा म खोला उत्खननमा जाँदै छु प्रहरी सक्छन् भने आज रोक्न आइज तर, नयाँ हेलमेट लगाएर भनेर लेखेका थिए । एसपी थापाले हर्कलाई कारबाही गर्ने बताएका छन् ।

हर्कले अहिले पनि पक्राउ परेकाहरूलाई छोड्न माग गर्दै फेसबुकमा लेखेका छन् । प्रहरीले थप सत्य तथ्य बुझ्ने काम भइरहेको जनाएको छ । हर्क साम्पाङ विरुद्ध दुई वटा मुद्दा दर्ताको तयारी भएको धरान प्रहरीले जनाएको छ ।

Jhadap-2