धरान : नेपाली काँग्रेस धरान नगर सभापतिको लागि किशोर कुमार राईले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै राईले धरान नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन।

विज्ञप्ति पछि कपुरी न्युज सँग कुरा गर्दै उनले धरानमा नेपाली काँग्रेसको गढ बनाउनको लागि आफू सभापति हुनुपर्ने बताए । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो त्यागको कारण धरानमा काँग्रेसले सफलता हासिल गरेको उनको भनाइ छ।

पूर्व धरान नगर सभापति तथा हालका जिल्ला सदस्य समेत रहेका राई एन्फाका पूर्व उपाध्यक्ष समेत हुन । धरानलाई खेलकुद क्षेत्रबाट परिचित गराउन राईको योगदान महत्वपुर्ण मनिन्छ ।

"आगामी अधिवेशनलाई एकताको अधिवेशनको रूपमा लिई नेपाली काँग्रेस पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन साथै सबल, सक्षम र समन्वयकारी नेतृत्वको चयन गर्दै भव्यताका साथ सफल बनाउन सकूँ भनी सबैमा हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ," विज्ञप्तिमा उनले भनेका छन् ।

कार्यकर्ताको माया, सद्भाव, सल्लाह, सुझाव, सहयोग र चाहनालाई हृदयदेखि नै अपनत्व र स्वीकार गर्दै १४ औँ महाधिवेशनमा धरान नगर सभापति हुने निर्णय गरेको उनको भनाइ छ ।

kisor-rai-umeddwar