बिम्बहरूको कठघरामा उभाएर आफूलाई
दुनियाँको भिड र कोलाहल भन्दा टाढा
विक्षिप्त हृदय लिएर चुपचाप
शान्ति खोजिरहेछ उ
मुर्दा शान्ति
आर्यघाटमा जल्दै गरेको चितामा
बल्दै गरेको पहेँलो लप्को माथि
उड्दै गरेको कालो धुवामा
टक्क अडिन्छ उसका नजर
मृगस्थलिको डिलमा उभिएर
पवित्र पाशुपत क्षेत्रमा
शान्ति खोज्दै डुलेका उसका नजर ।

चिताको कालो मुस्लो उसलाई
आफ्ना मनका छटपटिका ज्वारभाटाका
मुस्लो झैँ लाग्छ
रहरहरूका चिहान घर
चितामा दनदन बल्दै गरेझैँ
उ आफैलाई त्यही चितामा जल्दै गरेको देख्छ ।

हिजो सम्म दिनभर उसका
सपनाका घाटी निमोठिन्थे
अनि रातभर रहरहरूका
तर आज दिउसै उसका रहरहरू
आर्यघाटमा अर्कैको चितासँग
जल्दैछन अनि बल्दैछ्न ।

क्रमशः रागमा परिवर्तन हुदैछन
केही धुवा बनी अनन्तमा विलीन हुदैछन
उसका केहिथान रङ्गिन रहरहरू अनि
केही थान गुलाबी सपनाहरू ।।